Sunday, May 16, 2010

म हुँ "सुकिलो मुकिलो भिजलान्ते !!!!!"

बितेका केही बर्षमा नेपालमा थुप्रै राजनीतिक परिवर्तन र चलखेलहरु भए- यि देखेका, सुनेका र भोगेका कुराहरु हुन्। राजनीतिमा चासै नभएको बताउनेहरु र यसबाट भागीहिंड्न खोज्नेहरुलाई पनि घटनाक्रमले यसबारे सु-सुचित हुन वाध्य तुल्यायो। देशमा नयाँ संबिधान बन्ला, शान्ति छाउला प्रगती होला जस्ता आशावादी शब्दहरुलाई बन्द, हड्ताल र नाराबाजीले धम्काए जस्तो भान भयो बितेको १५ दिनमा। उद्योग,व्यापार-व्यवसाय,स्वास्थ्य,शिक्षालगायतका अनेकन् महत्वपूर्ण क्षेत्रमा वाक् स्वतन्त्रता र विरोध गर्ने अधिकारको सदुपपयोग गर्ने नाममा केहि समुह र राजनीतिक दलले बाँकि सबै नेपालीको बाँच्न पाउने अधिकार र सुरक्षाको हनन गरेको तथ्य पनि थाहा भएकै हो ।

यसै त समयमा संविधान नबन्ला भनेर पिरोलिएका जनताहरू त्यसमाथि पनि आफ्नो अधिकारबाट बञ्चित हुनुपर्दा रिसको ज्वाराभाटा पैदा हुनु अनौठो कुरा होइन ।अर्कोतर्फ मन लागी नलागी,बाध्यतामा परेर-पारिएर, सडकमा ओइराइएका जनतामा पनि वितृष्णा जागिसकेको परिस्थिति उत्पन्न भयो । यी सबै कारणले सक्रिय राजनीतिबाट पञ्छिएका म, हामीलगायतका अन्य थुप्रै नेपाली आफ्नो विरोध गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै शान्तिप्रतिको चाह र बन्द-हड्तालको विरोध गर्न एकजुट भयौँ ।देशमा सु-शासन चाहने हामीहरूले यसै इच्छालाई सार्वजनिक गर्न शान्तिसभामा आफ्नो उपस्थिति जनायौँ । त्यहाँ उपस्थित सबैको एउटै उद्देश्य थियो - शान्तिस्थापनामा जोड दिनु, संविधान छिटो बनाउन दवाव दिनु र कानुनी राज्यको माग गर्नु । हामी सहभागी भयौँ र कसैको विरोध नगरि केवल इच्छा प्रकट गरेर फर्कियौँ । न त्यहाँ कुनै माग गरियो, न त नारावाजी नै । षड्यन्त्र नभएर जनताको इच्छाको प्रतिरूप थियो त्यो सभा ।

सामान्यतया : देशका हरेक वर्ग, जातजाती, समुदाय र भुगोलको आवाजको प्रतिनिधित्व गर्छन् राजनीतिक दलहरूले । यसैकारण जनताबाट चुनिएका हुन्छन् । राजनीतिज्ञको प्रथम दायित्व भनेकै जनताको आवाजलाई बुलन्द बनाउँदै उनीहरूको चाह पूरा गर्न पहल गर्नु हो ।यस कुराबाट अछुतो रह्यो नेपाल ।उल्टो षड्यन्त्रकारीको संज्ञा दिइयो तथाकथित् महान् नेताबाट शान्तिसभाका सहभागीहरूलाई । जनताको भावनाविपरीतका क्रियाकलाप गर्ने र त्यस्ता क्रियाकलापमा सहमति जनाउने सुसुचित नागरिकलाई "सुकिला मुकुला र भिजलान्ते"को उपमा दिनु कतिको उपयुक्त थियो, त्यो विचार भने व्यक्तिपिच्छे फरक होला ।

मेरो आफ्नो कुरा गर्नुपर्दा, साह्रै झोँक चल्यो त्यसदिन मलाई ।तथानाम मुख छोडेकै हुँ मैले त्यसदिन 'भिजलान्ते' भनिएँ भनेर ।दुई दिनपछि रिस शान्त भइसकेको बेला शब्दकोश पल्टाउने काम पर्‍यो । यसो भिजलान्तेको अर्थ जानिहालौँ न भनेर हेर्दा त म आफैँ उत्साहित पो भएँ । Collins Cobuild Advanced Dictionary of English का अनुसार भिजलान्ते भन्नाले मानिसहरूको समुह जसले अनौपचारिक रूपमा संगठन बनाएर आफ्नो समाजको रक्षा गर्छ र दोषिलाई कारवाहि गर्छ भनेर बुझिँदो रै'छ ।
The Concise Oxford Dictionary ले भने आफैँ बनाइएको समुहकोसदस्य जसले कानुनी अधिकार नपाए पनि कानुनको अधिनमा रहेर कानुन पालनामा पहल गर्छ भन्दो रहेछ ।

यसो सोचेँ, म आफू सफा‍‍-सुग्घर नै छु, दु:ख पाएको छुइनँ र भिजलान्तेको सबै अर्थ पनि मिल्छ । म कुनै संगठन बनाएर शान्तिसभामा गइनँ ; मैले समाजमा शान्तिको सुरक्षा होस् भन्ने चाहेँ अनि कानुनी राज्य र सुशासनको माग गरेँ। आज यो लेख लेख्दासम्म म तिनै महान् नेतालाई धन्यवाद भन्न चाहन्छु जसले मलाई आफैँलाई चिन्ने मौका दिनुभयो । हो, म हुँ "सुकिलो मुकिलो भिजलान्ते !!!!!"

8 comments:

Boy's Stuff said...

म पनि हुँ सुकिलो मुकिलो भिजेलान्ते, जा कसले के गर्छ ?

Aakar said...

liked this line: म आफू सफा‍‍-सुग्घर नै छु, दु:ख पाएको छुइनँ र भिजलान्तेको सबै अर्थ पनि मिल्छ । म कुनै संगठन बनाएर शान्तिसभामा गइनँ ; मैले समाजमा शान्तिको सुरक्षा होस् भन्ने चाहेँ अनि कानुनी राज्य र सुशासनको माग गरेँ। आज यो लेख लेख्दासम्म म तिनै महान् नेतालाई धन्यवाद भन्न चाहन्छु जसले मलाई आफैँलाई चिन्ने मौका दिनुभयो । हो, म हुँ "सुकिलो मुकिलो भिजलान्ते !!!!!"...
no cmmt :)

gambhir said...

deshko ramro sochnelai bhijilante bhanchan bhane ma pani aja bata bhijilante....

Prabesh said...

म पनि भिजलान्ते........

Unknown said...

अर्थ बुझेर खुशी लाग्यो...
म पनि भिजिलान्ते उसोभए

Ashesh said...
This comment has been removed by the author.
Ashesh said...

सर्वहाराको नाममा घिनलाग्दो राजनिति गर्नेहरूको रामराज्य भएको देशमा बाँकी जनताले पाउने दर्जा यहि हो । हामी सबै भिजलान्ते ।
मनपर्यो लेखाई । :):)

Anonymous said...

उषा जी ब्लग निकै राम्रो लाग्यो । लेखन शैली पनि अविष्मरणीय छ है । सफलताको शुभकामना तपाईलाई । मेरो ब्लग तपाईको ब्लगलिस्टमा पनि राखिदिनुहोला है ।

http://onlinekhaskhas.blogspot.com/