Sunday, May 16, 2010

म हुँ "सुकिलो मुकिलो भिजलान्ते !!!!!"

बितेका केही बर्षमा नेपालमा थुप्रै राजनीतिक परिवर्तन र चलखेलहरु भए- यि देखेका, सुनेका र भोगेका कुराहरु हुन्। राजनीतिमा चासै नभएको बताउनेहरु र यसबाट भागीहिंड्न खोज्नेहरुलाई पनि घटनाक्रमले यसबारे सु-सुचित हुन वाध्य तुल्यायो। देशमा नयाँ संबिधान बन्ला, शान्ति छाउला प्रगती होला जस्ता आशावादी शब्दहरुलाई बन्द, हड्ताल र नाराबाजीले धम्काए जस्तो भान भयो बितेको १५ दिनमा। उद्योग,व्यापार-व्यवसाय,स्वास्थ्य,शिक्षालगायतका अनेकन् महत्वपूर्ण क्षेत्रमा वाक् स्वतन्त्रता र विरोध गर्ने अधिकारको सदुपपयोग गर्ने नाममा केहि समुह र राजनीतिक दलले बाँकि सबै नेपालीको बाँच्न पाउने अधिकार र सुरक्षाको हनन गरेको तथ्य पनि थाहा भएकै हो ।

यसै त समयमा संविधान नबन्ला भनेर पिरोलिएका जनताहरू त्यसमाथि पनि आफ्नो अधिकारबाट बञ्चित हुनुपर्दा रिसको ज्वाराभाटा पैदा हुनु अनौठो कुरा होइन ।अर्कोतर्फ मन लागी नलागी,बाध्यतामा परेर-पारिएर, सडकमा ओइराइएका जनतामा पनि वितृष्णा जागिसकेको परिस्थिति उत्पन्न भयो । यी सबै कारणले सक्रिय राजनीतिबाट पञ्छिएका म, हामीलगायतका अन्य थुप्रै नेपाली आफ्नो विरोध गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै शान्तिप्रतिको चाह र बन्द-हड्तालको विरोध गर्न एकजुट भयौँ ।देशमा सु-शासन चाहने हामीहरूले यसै इच्छालाई सार्वजनिक गर्न शान्तिसभामा आफ्नो उपस्थिति जनायौँ । त्यहाँ उपस्थित सबैको एउटै उद्देश्य थियो - शान्तिस्थापनामा जोड दिनु, संविधान छिटो बनाउन दवाव दिनु र कानुनी राज्यको माग गर्नु । हामी सहभागी भयौँ र कसैको विरोध नगरि केवल इच्छा प्रकट गरेर फर्कियौँ । न त्यहाँ कुनै माग गरियो, न त नारावाजी नै । षड्यन्त्र नभएर जनताको इच्छाको प्रतिरूप थियो त्यो सभा ।

सामान्यतया : देशका हरेक वर्ग, जातजाती, समुदाय र भुगोलको आवाजको प्रतिनिधित्व गर्छन् राजनीतिक दलहरूले । यसैकारण जनताबाट चुनिएका हुन्छन् । राजनीतिज्ञको प्रथम दायित्व भनेकै जनताको आवाजलाई बुलन्द बनाउँदै उनीहरूको चाह पूरा गर्न पहल गर्नु हो ।यस कुराबाट अछुतो रह्यो नेपाल ।उल्टो षड्यन्त्रकारीको संज्ञा दिइयो तथाकथित् महान् नेताबाट शान्तिसभाका सहभागीहरूलाई । जनताको भावनाविपरीतका क्रियाकलाप गर्ने र त्यस्ता क्रियाकलापमा सहमति जनाउने सुसुचित नागरिकलाई "सुकिला मुकुला र भिजलान्ते"को उपमा दिनु कतिको उपयुक्त थियो, त्यो विचार भने व्यक्तिपिच्छे फरक होला ।

मेरो आफ्नो कुरा गर्नुपर्दा, साह्रै झोँक चल्यो त्यसदिन मलाई ।तथानाम मुख छोडेकै हुँ मैले त्यसदिन 'भिजलान्ते' भनिएँ भनेर ।दुई दिनपछि रिस शान्त भइसकेको बेला शब्दकोश पल्टाउने काम पर्‍यो । यसो भिजलान्तेको अर्थ जानिहालौँ न भनेर हेर्दा त म आफैँ उत्साहित पो भएँ । Collins Cobuild Advanced Dictionary of English का अनुसार भिजलान्ते भन्नाले मानिसहरूको समुह जसले अनौपचारिक रूपमा संगठन बनाएर आफ्नो समाजको रक्षा गर्छ र दोषिलाई कारवाहि गर्छ भनेर बुझिँदो रै'छ ।
The Concise Oxford Dictionary ले भने आफैँ बनाइएको समुहकोसदस्य जसले कानुनी अधिकार नपाए पनि कानुनको अधिनमा रहेर कानुन पालनामा पहल गर्छ भन्दो रहेछ ।

यसो सोचेँ, म आफू सफा‍‍-सुग्घर नै छु, दु:ख पाएको छुइनँ र भिजलान्तेको सबै अर्थ पनि मिल्छ । म कुनै संगठन बनाएर शान्तिसभामा गइनँ ; मैले समाजमा शान्तिको सुरक्षा होस् भन्ने चाहेँ अनि कानुनी राज्य र सुशासनको माग गरेँ। आज यो लेख लेख्दासम्म म तिनै महान् नेतालाई धन्यवाद भन्न चाहन्छु जसले मलाई आफैँलाई चिन्ने मौका दिनुभयो । हो, म हुँ "सुकिलो मुकिलो भिजलान्ते !!!!!"

Friday, April 16, 2010

'मिस हुन थाल्यौ'

खालिपन छ कता कता
प्रतिक्ष्यामा कुर्ने आँखा पनि सुन्यतामा हराएका छन्,
ओठहरु स्विकार गर्न असमर्थ छन,
तर मनले भन्दै छ,'मिस हुन थाल्यौ'।

कमी छ आज खै के हो म मा
एकोहोरो भएका छन भावनाहरु
हरेक सोचको अन्त्य तिमीमै हुँदै छ
सांचै नै, तिमी मिस हुन थाल्यौ।

म तुलना गरुँ त के सँग?
औँसीको रातमा चन्द्रमा;
खडेरीको मौसममा झरी; वा
कुहिरोले ढाकेको बिहानीमा उषा?
त्यो सबैभन्दा म मा तिमी मिस हुन थाल्यौ!

Monday, January 4, 2010

जीवन, मृत्यु अनी एक साहित्य

भावनालाई कसेर राख्ने हो भने शायद विश्वका महान साहित्यकारको जन्म कहिले हुने थिएन। सेक्शपीयर हुन या देवकोटा, चाहे जेन अस्टिन हुन कि पारिजात्, भावना कलम माथि हावी भएपची नै उनका रचना पढिए। अनौठो रहेछ मानिसको जात पनी, नलेखीएका भावना भावना होइनन, लेखिएक चै खरा साहित्य- मानवीय भावनाको प्रतिबिम्ब!

यही कुरा आज निहिताको मनमा जरो गाढेर बसेको छ, त्येसैले कहिले मनमा नआउने कुरा पनि कलम सँगै निस्स्रित हुँदैछ। अचम्मकै कुरा भन्नुपर्ला उसले आज आफु भित्रको प्रतिभालाई नजानेरै पत्ता लगाई। मर्नु अगाडि मानिस अमर हुन चाहन्छ रे, आज उसलाई पनि त्यस्तै लगेको छ। सुर्योदयमा सुरु भएको उसको 'भावना' पोख्ने मेलोले उसलाई सुर्यस्त सम्मा साथ् देला नदेला त्यस्को टुँगो कसैले लगाउन सकेको छैन। आज ऊ डम्म ढोका थुनेर कोठामा गुम्सिएकी छ- आफ्न गुम्सिएका पिडा कागजमा थोपार्न।

हुन त लेख्नु नै ठुलो कुरा हैन- मेरा कुरा म बोलेरै ब्यक्त गर्छु। तर निहिताको लागि त्यो सम्भव छैन। ऊ सँग आवाज छैन... केवल कलम छ।

दिनभरमा उसले शायद ८ ९ पन्ना लेखी होला तर रुदै लेखिएका अक्ष्यरहरुलाई उस्का अस्रुधाराले बगाइरहेका थिए। जस्तै सुख पाएका मानिसको मनमा पनि एक किसिमको पिडा लुकेको हुन्छ भन्ने सुनेको थिए, हंसिलो देखिन खोज्ने निहिता पनि त्यस्तै रहिछ। उस्का ति निस्प्रिह अभिब्यक्ती आज अक्ष्यर भएर कागज भरी छरिएका छन्। भावावेशमा आएर कोरिएका उस्का अभिब्यक्ती उस्को प्रतिबिम्ब भएको छ आज।

निहिता पासित थिई, आफ्नै दुनियाँमा अल्झिएकी। न त ऊ बोल्न सक्थी न त सुन्न नै। बिधाताले उस्लाई ठगेको थियो, हिजो फेरी एकपल्ट ठगिई ऊ- त्यसपछी अब्यक्त पिडालाई थाती रखेर जिवन समाधी लिने निर्णय गरी। समाजले सधैं सहानुभुति देखायो ऊ माथि तर त्यही समाजका माम्सपिचासले आज उसको जीवनलाई नर्क म धकेलेका छन्। कमजोरिको फाईदा लिने परजीविले निहिताको असक्ष्यमताको फाईदा उठाए। सहनसिलताको पनि सिमाना हुन्छ तर आज त्यो क्ष्मता पनि हराईसकेकोछ निहिताबाट। त्यसैले आफ्नो क्ष्यत बिक्ष्यत मन र शरीर लिएर उसले कलम समाती। मनका अनेक भावलाई शब्दमा कोरी, ऊ जस्तै निहिताहरुको प्रतिबिम्ब बन्यो त्यो भावना अनी उसको अमर हुने इच्छा सुर्यास्त पछी पनि अक्ष्यर सँगै रहिरह्यो- निहिता रहिन तर पनि नयाँ साहित्यको जन्म भयो।

कुहिरोले ढाकेको क्षितिज

निलो आकाशलाई डम्म ढाकेको छ
आज बाक्लिएको छ त्यो सेतो कुहिरो
न त आज सूर्यदेवको दर्शन पाइयो
न त अस्ताएकै देख्न पाउने छाँट्काँट छ

हिमाललाई पनि डम्म ढाकेको छ फुस्फुसे हिउँले
चिसो बतास तल तल जाडोको सन्देश प्रवाह गर्दै छ
सधैँ सन्देश ल्याउँथ्यो त्यो कालो कौवा
कुहिरोमा त्यसले पनि बाटो बिराए जस्तो छ

सुख्खा भएको छ धर्ती अनि
उब्जाउ गर्न असमर्थ, पट पट फुटेको छ
तल घरमा बस्ने कान्छी दिदी पनि त्यस्तै भएकी छिन
पट पट फुटेका गाला, चिसिएको मन अनि बाँझिएको शरीर!

प्रकृतिले त काँचुली फेर्छ पक्कै
यो माघे जाडो पछि न्यानो चैत आउँछ नै
कान्छी दिदिको फराकिलो क्षितिजलाई भने सधैँ कुहिरोले ढाक्ने छ
क्षितिज पारि बाट नआउने भए कान्छा दाइ!

धर्तिको प्रतिरुप

कुनै पर्वत हो त्यो धर्तीको
जसको मुहान बाट धारा प्रवाह जल बहन्छ
आफ्नो बाटो अघि लाग्छ निरन्तर
प्यासी परजीविको प्यास मेटाउँछ

अग्ला होचा, खस्रा अनि कोमल सतह
सबै पार गर्छं
केही थोपा जल त्यही भूमिको
उडेर जान्छ, फेरि जल बनेर बर्षन्छ

धर्ती हो नारी अनि नारी हो धर्ती
दुबै को सतह हदै सम्म समान हुन्छ
दुबै हुन् सिर्जना र सुन्दरताका खानी
दुबैको गहिराइमा रहस्य लुकेको हुन्छ

अधुरो सपना

त्यो कालो अँधेरी रात
लगातारको झरी अनि गड्गडाउँदो बादल
चिसो हावा सँगै उडेका पर्दा
त्यही सँगै उडिगयो एक सपना

निधार माथि टक्क काटिएको सिउँदो
त्यसमै सजाएको विवाहिताको निशानी सिन्दूर
कमलो हातमा सजाएका काँचका चुरा
तर कठोर मनका विधाता भए निष्ठुर

त्यो सिन्दूर त्यही एकदिनको रह्यो
पुछियो सिन्दूर सँगै मुहारको हर चमक
टुक्रा टुक्रा भए सपना काँचको चुरा जस्तै
अनि छरपस्ट भयो जीवनको हर क्षण………