Monday, January 4, 2010

कुहिरोले ढाकेको क्षितिज

निलो आकाशलाई डम्म ढाकेको छ
आज बाक्लिएको छ त्यो सेतो कुहिरो
न त आज सूर्यदेवको दर्शन पाइयो
न त अस्ताएकै देख्न पाउने छाँट्काँट छ

हिमाललाई पनि डम्म ढाकेको छ फुस्फुसे हिउँले
चिसो बतास तल तल जाडोको सन्देश प्रवाह गर्दै छ
सधैँ सन्देश ल्याउँथ्यो त्यो कालो कौवा
कुहिरोमा त्यसले पनि बाटो बिराए जस्तो छ

सुख्खा भएको छ धर्ती अनि
उब्जाउ गर्न असमर्थ, पट पट फुटेको छ
तल घरमा बस्ने कान्छी दिदी पनि त्यस्तै भएकी छिन
पट पट फुटेका गाला, चिसिएको मन अनि बाँझिएको शरीर!

प्रकृतिले त काँचुली फेर्छ पक्कै
यो माघे जाडो पछि न्यानो चैत आउँछ नै
कान्छी दिदिको फराकिलो क्षितिजलाई भने सधैँ कुहिरोले ढाक्ने छ
क्षितिज पारि बाट नआउने भए कान्छा दाइ!

No comments: